लक्ष्मण घिमिरे
बाल्यकालको मीठो सम्झना
डिजिटल युगमा बाल्यकाल, सिर्जनशीलता र अभिभावकको जिम्मेवारी बिर्सेर एकछिन आँखा चिम्लिएर आफ्नै बाल्यवस्था सम्झनुहोस्। विद्यालयबाट घर फर्किएपछि हामी साथीहरूसँग खेल्न जान्थ्यौं, हजुरबुबा–हजुरआमाबाट कथा सुन्थ्यौं, माटोसँग खेल्दै आफ्नै संसार बनाउँथ्यौं।
बनमाराको चुंगी, ढुंगाको ढ्याकको पैसा, खोपी, मोजाको बलबाट भकुण्डो, हात्तीछाप चप्पल काटेर बनाइएको गाडी—यी सबै हाम्रो सिर्जनशीलताको हिस्सा थिए। पुराना कापीका खाली पानामा कोरिएका चित्रहरूले हाम्रो कल्पनाको संसार विस्तार गर्थे।मोजाको बल खेल्दा दाईहरुले कस्तो राम्रो म्यारोडोना र पेले जस्तो खेल्यो भन्दा हामी अचम्मित हुन्थ्यो ।
कल्पनाले भरिएको बाल्यकाल
हामी नदेखिएको संसार देख्थ्यौं, नसुनेका कथा सुन्थ्यौं र आफ्नै मनभित्र पात्र तथा कथाहरू सिर्जना गर्थ्यौं। दशैं, तिहार, एकादशी, माघे संक्रान्ति जस्ता चाडबाडहरू आउनु अघि नै औंलामा दिन गन्दै हामी रमाउँथ्यौं। त्यो प्रतीक्षाको आनन्द नै हाम्रो बाल्यकालको विशेषता थियो।
दिनभर चुंगी,खोपी, कबड्डी, डण्डिबियो, लङ्गडी जस्ता खेलहरू खेलिन्थ्यो। थकित भएर घर फर्किँदा खाना नखाई निदाउँथ्यौं, अनि आमाबुबाले निन्द्रैमा उठाएर भात खुवाएको सम्झना आज पनि ताजा छ।आजको बालबालिकालाई अनेकौं तयारी ब्यन्जन खुवाउन पनि मोबाइल बिना खुवाउन सकिँदैन !
गाउँ, सम्बन्ध र आत्मीयता
भोकले थाकेर घर फर्किँदा बाटोमै खनेउ,सखरखण्ड, तरुल, सिमल तरुल जस्ता कन्दमुल र आँप,लिची,आरु,आरु पखेरा डि (बगैंचा ) भरी खानेकुरा पाउँथ्यौं। छिमेकीहरू माया र चिन्तासहित “बिरामी हुन्छौ” भन्दै सम्झाउनुहुन्थ्यो।
अमिलोको बोटबाट झर्दा चोट लाग्नु, आँप चोर्दा चप्पल हराउनु, दशैंमा मात्र नयाँ लुगा लगाउनु—यी सबै अनुभव हाम्रो जीवनका अविस्मरणीय कथा हुन्।
आजको बाल्यकाल: डिजिटल संसारको प्रभाव
आजको बाल्यकाल पूर्ण रूपमा परिवर्तन भएको छ। पहिले किताब र बाहिरको प्राकृतिक वातावरणमा खेल्ने हाम्रो दैनिकी आजका बालबालिकाको हातमा मोबाइल, ल्यापटप र ट्याब्लेट अभ्यस्त हुन थालेको छ।
खुला आकाश, खेलमैदान र साथीहरूको रमाइलोभन्दा उनीहरूको ध्यान स्क्रिनमा चल्ने भिडियो,गेम र एप्लिकेसनतर्फ बढी केन्द्रित छ। खेलमैदानहरू सुनसान हुँदै गएका छन् भने डिजिटल संसार अझै तीव्र गतिमा फैलिँदै गएको छ।
प्रविधिको विकास स्वाभाविक भए पनि प्रश्न उठ्छ—के हामी बालबालिकालाई प्रविधिसँगै प्रकृति, सिर्जनशीलता र मानवीय सम्बन्धबाट टाढा त बनाइरहेका छैनौं ?
जब मनोरञ्जनले कल्पनालाई विस्थापित गर्छ
पहिले कथा पढ्दा पात्रहरू हाम्रो आफ्नै कल्पनामा बन्थे। आज स्क्रिनले सबै कुरा तयार देखाइदिन्छ। कविता लेख्दा हामी आफ्नै गाउँ, समाज र परिवेश कल्पना गर्थ्यौं। आज रेडिमेड दृश्य, आवाज र कथा उपलब्ध हुँदा कल्पनाशक्ति बिस्तारै कमजोर हुँदै जान सक्छ।
यसले बालबालिकालाई सिर्जना गर्नेभन्दा उपभोग गर्ने बानीतर्फ धकेल्न सक्छ। उनीहरू लेख्ने, सोच्ने र निर्माण गर्नेभन्दा हेर्ने र नक्कल (copy) गर्ने प्रवृत्तिमा बढी आकर्षित हुन जान्छ। यसको दीर्घकालीन असर सिर्जनशीलता, एकाग्रता,प्रस्तुति र अभिव्यक्ति क्षमतामा देखिन सक्छ।
निष्कर्ष: जिम्मेवारी कसको?
म सानोमा सर ले भनेको एउटा नीति कविता आज नी मलाई कण्ठ छ ।जुन आज मेरो जिवनको आदर्श बनेको छ।
“रिसै हो सबका शत्रु,
रिसैले सब नासिने !
रिसैले उठदछ झगडा
रिसैले सब भासिने”
त्यसैले बाल्यकाल केवल मनोरञ्जन होइन,असल,सफल नागरिक निर्माणको सबैभन्दा गहिरो जग हो ।
देशको भोलिको भविष्य बोकेको पुस्ताको कल्पनाशक्ति निर्माण गर्ने आधार आजका बालबालिकालाई महंगो स्कुल पठाएर मात्रै हाम्रो कर्तव्य र दायित्व पूरा हुन्दैन उनीहरूलाई हिजोको परम्परा, ज्ञान् सीप र सिल्पी अनि सृजना सिकाउँदै हस्तान्तरण सहितको पुस्तान्तरण गर्दा मात्रै परिवार सामाज र देश बाँच्न सक्छ ।
त्यसैले अभिभावक, शिक्षक र समाज सबैले मिलेर बालबालिकालाई डिजिटल संसारसँगै प्राकृतिक, सामाजिक र सिर्जनशील वर्तमान पनि दिन आवश्यक छ।
